कान्तिपुरका अध्यक्ष सिरोहियाको जेठो छोराले हाँकेको कार गम्भीर दुर्घटनामा
घटना विवरण सार्वजनिक गर्न ट्राफिक प्रहरीले मानेन
सोल /कोरिया – शनिबार बिहान करिब पौने ५ बजे माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको छ । चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बिहान करिब पौने ४ बजे चार जना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पतालअगाडि केही बेर रोकिएको थियो । उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको थियो । त्यहाँबाट अगाडि बढ्ने क्रममा उक्त कार अनियन्त्रित भई सडकपेटीमा चढेको थियो । कार सडकपेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिइरहेकाहरुको भागदौड भएको थियो ।
त्यसपछि सो कार नरोकी थापाथलीचोकबाट माइतीघरमण्डलातर्फ गतिमा हुइँकिएको थियो । तीव्र कार अनियन्त्रित भएर अगाडि बढ्दा माइतीघरमण्डलामा सडक किनारमा रहेको सोलार प्यानल राखेको पोललाई ठक्कर दिएर सडकपेटीकै सिमेन्टले निर्माण गरिएको पिलरमा ठोकिँदा कार सडकमा तीन बल्ड्याङ भएको थियो । उक्त कारमा चालकसहित दुई पुरुष र दुई महिला रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
दुर्घटनामा परेको कार कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाको रहेको स्रोतले जानकारी दिएको छ । कारमा रहेका अर्का पुरुष व्यक्ति बाफलका सौरभ माली भए पनि सुरक्षा स्रोतले ती दुई युवतीको नाम भने बताउन चाहेन । कार सम्भव आफैँले हाँकेका थिए । ‘केटीको नाम बताउन मिल्दैन’, सुरक्षा स्रोतले भन्यो, ‘कैलाश सिरोहियाका जेठा छोरा सम्भवले चलाएको कार गम्भीर दुर्घटनामा परेको हो ।’ स्रोतका अनुसार उक्त कार कैलाशले छोरालाई जन्मदिनको उपहारस्वरुप दिएका हुन् । थापाथलीको चिया पसलमा ठक्कर दिन खोज्दा भागेको उक्त कारको बारेमा प्रहरी कन्ट्रोल रुममा चिया पसले र बटुवाहरुले खबर गर्ने तयारी गर्दैगर्दा दुुई मिनेटमै माइतीघरमण्डलामा दुर्घटनामा परेको थियो । विभत्स तरिकाले दुर्घटना भएको उक्त कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलार्ई उद्धार गरेर नर्भिक अस्पताल पु-याएका थिए । अस्पताल पुग्नेबित्तिकै घाइतेहरुलार्ई प्रहरीले सोधपुछ गर्ने क्रममा सिरोहिया र मालीले दुवै जना केटी आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको बताएको स्रोतले जानकारी दियो ।
दुर्घटनामा परेका चालकको परिचय तथा उनको हैसियत बुझ्दै अस्पतालको प्रहरीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि करिब १० मिनेटमा क्रेन र -याकर लिएर प्रहरीको जम्बो टोली घटनास्थलमा पुगेर हतार–हतार उक्त कार हटाएको थियो । स्रोतका अनुसार उक्त दुर्घटनाबाट टायर समेत खुस्किएको गाडीलार्ई क्रेनले उचालेर -याकरमा राख्दा कारभित्रबाट ४/५ वटा मदिरा र बियरका बोत्तल भुइँमा छरपस्ट भएका थिए भने घाइतेहरुको रगत बाटोको भुइँसम्म लतपतिएको थियो । कार उठाइसकेपछि प्रहरीको अर्को टोलीले हतार–हतार कुचो लगाएर सडक सफा गर्दै सडकमा लतपतिएको रगत समेत पुछपाछ गरेर घटनास्थललाई पूर्ववत् अवस्थामा ठीकठाक पारेका थिए ।
माइतीघरमण्डलाको उक्त विभत्स एवं रहस्यमय कार दुर्घटना सम्बन्धमा प्रहरीले मुख खोल्न चाहेको छैन । उक्त दुर्घटनाको विषयमा जानकारी लिनखोज्दा उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्दले आफूूलार्ई उक्त घटनाको सम्बन्धमा कार्यालयबाट सामान्य रिपोर्ट गरेको र आफू घरमा भएको कारण विस्तृत विवरण दिन नसक्ने बताए । उनले उक्त घटना खासै ठूूलो दुर्घटना नभएको दाबी गरे पनि आर्थिक दैनिकलार्ई प्राप्त उक्त दुर्घटनास्थलको तस्बिरले उक्त दुर्घटना भयानक रहेको प्रष्ट हुन्छ । सामान्य दुर्घटनामा मिडियाहरुलार्ई ‘प्रेस रिलिज’ पठाउने ट्राफिक महाशाखाले उक्त घटना लुकाउनखोज्नु निकै अर्थपूर्ण देखिएको छ ।
आर्थिक राष्ट्रिय दैनिक बाट