समुद्रभित्र भविष्य खोज्दै नेपाली युवा
दक्षिण कोरिया-समुद्रै समुद्रले घेरिएको दक्षिण कोरिया । निलो सागरहरुको बिचमा टुसुक्क उठेका ससाना हरिया टाँपूहरु प्रसस्तै देख्न सकिन्छ । यिनै टाँपू मध्ये कोरियाको दक्षिणी भेगमा रहेको घ्यङसाङनाम्दोस्थित थोङयोङ शहरको नजिक पर्ने एउटा सुन्दर टाँपू हो योकजीदो । शहरबाट ३२ किलोमिटर टाढा पर्ने यो टाँपू १४.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । शान्त वातावरण,हेर्दै आनन्द लाग्ने यो टाँपूमा एक घण्टाको पानीजहाज चढेर घुम्न अनि माछा मार्न जानेहरु प्रसस्तै भेटिन्छन् । तर अहिले जाडोको याम, समुद्रमा सयर गर्ने भन्दा कपासको टुक्रा झैं फुस्फुसाइरहेको हिँउमा रम्नेहरु धेरै देखिन्छन् ।
यद्यपि,कहिल्यै समुद्र नदेखेका नत हिउँमा नै हुर्केका केही नेपाली युवाहरु विगत लामो समयदेखि यहि टाँपूलाई आफ्नो कर्मक्षेत्र बनाइरहेका छन् । स्याङजा घर भएका कुमार थापा सन् २००९ मा बैदेसिक रोजगार प्रणाली (इपिएस) मार्फत् कोरिया आए । राम्रो कमाइ हुने मुलुक, अधिकांश युवा झैं उनी पनि मिठामिठा तन्नेरी सपना साँचेर आएका थिए कोरिया । तर सोचेजस्तो त्यति सजिलो छैन कोरिया उनको शब्दमा भन्नुपर्दा ।
मत्स्यपालन भन्नासाथ नेपालमा जस्तो खोलामा या पोखरीमा होला भन्ने सोचेका थिए तर यहाँ त एकैचोटी पुगे ठुलो समुद्रको बिचमा । समुद्र नभएको मुलुकबाट आउदा केही दिन त समुद्रको दृश्यले उनलाई लठ्ठै बनायो । तर, समुद्रमा माछापालन काम भने सजिलो थिएन । त्यहिमाथि भाषाको समस्या, खानपिन अनि समुद्रको हावापानी नमिल्दा छ महिनासम्म धेरै सास्ती भोगे । त्यो बेला कोरिया सपना निल्नु न ओकल्नु जस्तै भयो उनको लागि । तर, अलिकति पनि बिचलित नभई आफ्नो काममा एकोहोरो लागिरहे मनलाई दह्रो बनाएर । अनि, नेपालमा छाडेका घरपरिवार र आफ्नो भविष्य सम्झेर ।
‘सुरुमा साहुले सिधै समुद्रमा लगेर छाडिदियो । जता हेरे पनि समुद्रै समुद्र । लाग्थ्यो, समुद्र बाहेक अर्को संसार नै छैन यहाँ । कन्टेनरको बास, कति दुख भोगियो नि के गर्नु जस्तो काम पनि गर्नैपर्ने रहेछ’, थापा कोरियामा सुरुका दिन सम्झन्छन् । सुरुमा समुद्रको छालभित्र निसासिएका उनले गर्मीमा समुद्रको तातो हावा अनि जाडोमा असाध्यै चिसो सिरेटोसँग पैठेजोरी खेल्दै आफुलाई बानी पार्दै लगे ।
चारवर्ष १० महिना एकै ठाउँमा काम गरेर नेपाल गएका थापा फेरी कोरिया आएर एकवर्षदेखि यहि काममा लागेका छन् । ‘अब त हाम्रो संसार नै यहि टाँपू अनि समुद झैं लाग्छ’,उनी छिनभरमै भावुक बन्छन् । भन्छन्, ‘दुख र संघर्षबिनाको जिन्दगी के जिन्दगी ? अब त यहि काम प्यारो लाग्छ अनि सजिलो पनि ।’ तर उनको कामलाई अरुले अलि हेयको दृष्टिले हेरिदिदा भने उनलाई नमिठो लाग्छ । ‘कोरियनले त हेप्छन् हेप्छन् नेपालीले समेत हाम्रो कामलाई घृणा गर्छन्, इपिएसबाट आउनेले नै हामीलाई तल्लो स्तरको व्यवहार गर्छन् अनि दुःख लाग्छ,’ थापा आफ्नो गुनासो पोख्छन् ।
भाषा नबुझ्दाको एउटा रोचक घटना थापा कहिल्यै भुल्दैनन् । उनीहरु बस्ने घरमा एउटा कुकुरको बच्चा थियो । एकदिन साहुले त्यो बच्चालाई उता सार भनेको रहेछ भाषा नबुझेर ढुंगा हटा भनेको हो कि भनेर ढुंगा टिपेर अन्तै राखे । साहु रिसाउदै त्यो होइन भन्यो नबुझेर छेउमा भएको काठको टुक्रा पो होकि भनेर त्यसलाई पनि अर्कैतिर सारीदिए । फेरी साहु रिसाउदै आफै उठेर कुकुरको बच्चालाई अर्कोतिर सारिदियो । रमाइलो अनुभव सुनाउदै उनी थप्छन्,‘छ महिना त इसारामा नै काम गरियो नि । भाषा नबुझ्ने, कति गाली गथ्र्यो साहुले बुझे पो । ङिच्च दाँत देखाउनु बाहेक अर्को विकल्प नै थिएन ।’
उनीसँगै समुदमा माछा पालनमा काम गर्छन् अर्का बाराका दिपक चौधरी । कोरिया आउनु अघि पनि नेपालमा माछा पालन व्यवसाय गर्दै आएका चौधरी आफ्नो व्यवसाय छाडेर कोरिया आए । आफुले गरिराखेको काम भएकोले सजिलै होला भन्ने सोचेका थिए तर नेपालको पोखरीको माछापालन र कोरियाको समुद्रको माछापालनमा धेरै फरक पाए । चारवर्ष दशमहिनाको पहिलो कार्यकाल सकेर नेपाल गइ पुनः कोरिया आएका दिपक पनि सुरुदेखि नै एउटै कम्पनीमा कार्यरत छन् । गरिराखेकैमा काम गर्दा साहुको बिश्वास जितिने तथा गरिराखेको काम पनि सजिलो हुने उनको अनुभव छ ।
समुद्रमा माछा धेरै पालिएकोले पनि काम धेरै हुने थापा र चौधरी बताउँछन् । उनीहरुसँगै इन्डोनेसिया र श्रीलंकाका कामदारसहित आठजना कार्यरत यहाँ साहु आफैं पनि दिनरात काममा जोतिन्छन् । माछालाई दाना दिने, जाली सफा गर्ने, फेर्ने अनि रंग लगाउने, माछाको दाना फ्रिजमा लोड गर्ने जस्ता काममा प्रायः व्यस्त रहने यी युवाहरु आफ्नो कामको बेलीबिस्तार लगाउदै भन्छन्,‘खाना र बस्ने सुविधा राम्रो छ तर काम नै गाह्रो । २४ सै घण्टा माछाकै बारेमा सोच्नुपर्छ । बलको काम भएकोले जीउ पुरै दुख्छ, ढाड दुख्छ । हातमा ठेला उठेर गाँठैगाँठा छन् । २०, २५ किलोभन्दा माथि उठाउनुपर्छ । नत बिदा नै पाइन्छ । समुद्रमा ठुलो पानी परेर छाल आयो भने अर्पझट बिदा हुन्छ । कहिलेकाही अर्पझट पाइने विदामा पनि सिथिल शरीर लिएर के घुम्नु । यस्तै छ समुद्रभित्रको जिन्दगी । हाम्रो संसार नै टाँपू भएको छ ।’
जाडो याममा भने दिन छोटो भएकोले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म काम हुन्छ । तर गर्मी महिनामा दिन लामो भएकोले बिहान ६ बजेदेखि बेलुकी आठबजेसम्म काममा जोतिनुपर्ने उनीहरु बताउछन् । भन्छन्,‘जति खटेपनि ओभरटाइमको कहिल्यै हिसाब हुन्न नत कम्पनीले दिने थेजिकम नै पाइन्छ नत विनासर्त कम्पनी परिवर्तन गर्न नै सकिन्छ ।’
समुद्रको काम निकै जोखिमपूर्ण तथा गाह्रो भएकोले २०१० देखि इपिएसबाट माछापालनमा कोरिया आउन बन्द गरिएको भएपनि पहिला आएर आफ्नो अवधि पुरा गरेर नेपाल फर्की पुनः आउनेहरुमध्ये केहीले अझै पनि समुद्रबिचमा बसेर माछापालनमै काम गर्दै आएका छन् । शरीरले साथ दिउन्जेल र आफ्नो दोस्रो कार्यकालभरी यहि काम गरेर नेपाल फर्कने सोच बनाएका थापा नेपालमा पनि माछा पालन नै गर्ने सोच बनाएका छन् । ‘नेपाल गएर पोखरीमा माछा पाल्ने, छेउमा सुँगुर पाल्ने बिचार गरेको छु । त्यस्तै हाँस पनि पाल्न सकिन्छ । हेरौं के हुन्छ’, उनी भन्छन् ।
त्यसैगरी दिपकको पनि नेपाल फर्केपछि कोरियन शैलीको माछापालन व्यवसाय गर्ने सोच छ । भर्खर ३६ पुगेका दिपक भन्छन्, ‘४० वर्षसम्म चाही कोरियामै बस्नु पर्ला त्यसपछि नेपाल फर्केर यहाँ सिकेको सिपलाई आफ्नै गाउँमा प्रयोग गर्छु ।’