आउदा बर्षहरुमा सतप्रतिशत ईपिएस कोटा बढछ – श्रम सहचारी अनिल गुरुङ
दक्षिण कोरियाले विदेशी कामदारहरुमाथि गरिने विभेद अन्त गर्दै व्यवस्थित र नियमितरुपले विदेशी कामदारहरु आपुर्ति गर्ने उद्देश्यले सन् २००४ देखि कोरीयाले रोजगार अनुमति प्रणाली लागु गरेता पनि २००७ को जुलाई २३ मा नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय र कोरीयाको रोजगार तथा श्रम मन्त्रालय वीच मन्त्रीस्तरमा समझदारी पत्र (Memory of understanding ) हस्ताक्षर पश्चात नेपालमा रोजगार अनुमति प्रणाली ( ईपिएस) लागु भएको हो | मासिक एक लाख भन्दा बढी कमाइ हुने कोरिया नेपाली युहाहरुको आकर्षक गन्तब्य हो | सन् २०१२ को अन्त्यतिर कोरियाका लागि श्रम सहचारी नियुक्त भएर कोरिया आएका अनिल गुरुङ आफ्नो कार्यकाल सकेर २०१६ को जनवरी १५ तारिख नेपाल फर्किदै छन् | नेपाली दुताबास नेपाली मजदुरको समस्या समाधान गर्न उदासिन हुने गरेको आरोप लाग्ने गरेको बेला गुरुङ श्रम सहचारी भएर कोरिया आए पछि नेपाली मजदुरहरुको समस्या धेरै हदसम्म कमि आएको छ | कोरियाका नेपाली मजदुर बीच निकै सुमधुर सम्वन्ध बनाउन सफल गुरुङ कुनै नेपालीलाई समस्या परेको जानकारी पाउन साथ फिल्डमै खटिएर समस्या समाधान गर्छन | कोरियामा रहेका समग्र नेपालीहरुको अवस्था र मजदुरहरुको समस्यामा केन्द्रित रहेर फोनिजकोरियाका लागि गुरुङसंग निश्चल काउचाले गरेको कुराकानी :-
कोरियामा नेपालीहरुको समग्र अवस्था कस्तो छ ?
म कोरिया २०१२ को अन्त्यतिर आएको हु | त्यति बेला नेपालीहरुको संख्या १५ हजारको हाराहारीमा थियो | अहिले त्यो संख्या ३० हजार भन्दा नाघेको छ | कोरियामा नेपालीहरु औधोगिक क्षेत्र , कृषि क्षेत्र र थोरैको संख्यामा सेवा क्षेत्रमा पानो कार्यरत छन् | समस्तिगत रुपमा भन्नु पर्दा कोरिया नेपाली युवाहरुको लागि आकर्षक गन्तब्य मुलुक हो | यहाँ रहेको नेपालीहरुलाई राम्रो अवस्थामा पाएको भेटेको छु |
नेपाली मजदुरहरुको समस्या पनि थुप्रै छन् नी ?
पक्कै पनि नेपाली मजदुरहरुको समस्या छन् | समस्याको एउटा पाटो नै बैदेशिक रोजगारीमा आउनु नै समस्या हो अनि बैदेशिक रोजगार नै समस्या हो | कोरिया आईसके पछि भाषाका समस्या छ | मौसम , खानपानको समस्या छ | त्यस पछि हाम्रो देशमा काम गर्ने शैलीको फरक छ | समस्या हुदा हुदै पनि कोरिया आएर हुने प्राप्त हुने उपलब्धि माझ समस्या गौण हुन् |
पछिल्लो समयमा आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दो देखिन्छ नी ?
हो | अहिले आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या तुलानात्मक रुपमा बढेको छ | म के जानकारी गराउन चाहन्छु भने २०१५ मा ९ जना नेपालीले आत्महत्या गरेका थिए | मैले उनीहरुले आत्महत्या गर्नुको कारण केलाउदै जादा व्यक्तिगत आत्महत्या समस्याको कारण गरेको देखिन्छ | कोही घरायसी समस्याले गर्दा कोही आफ्नो स्वास्थ्यको कारणले गरेका छन् | यस्ता समस्यालाई समाधान गर्न हाम्रो समाज , घरपरिवार देखि लिएर साथी भाइ लगायत सबै नेपालीहरुले सहयोग गर्नु पर्छ |
कोरियाबाट बैधानिक रुपबाट भन्दा अबैधानिक हुण्डी मार्फत बढी पैसा जान्छ | यसलाई रोक्न नेपाल सरकारले कुनै कदम चाल्न नसकेको या नचाहेको हो ?
नेपाल सरकार जहिले पनि नेपाली श्रमिकहरुले कमाएको पैसा बैकिङ च्यानल मार्फत भित्रियोस भन्ने चाहन्छ | त्यस कारण हामीले केहि कदमहरु अगाडी बढाएका छौ | पक्कै पनि आगामी दिनमा बैकिङ प्रणाली मार्फत पैसा पठाउनेको संख्या बढने छ | म उदाहरण दिन चाहन्छु म शुरुमा आउदा बैकबाट पैसा पठाउनेको संख्या न्यून थियो | अहिले करिब ३० प्रतिशत नेपालीले बैक मार्फत पैसा पठाउ छन | अझै केही समस्याहरु छन् | हामीले नेपाल सरकार कोरियाली बैक , नेपाली बैकहरुसंग सहकार्य गरेर अगाडी बढिरहेका छु | आगामी दिनहरुमा बैक मार्फत पैसा पठाउनेको संख्या वृद्धि हुनेछ |
यो वर्ष देखि कोरियाले लाओसबाट पनि कामदार ल्याउदै छ | यसले नेपाली कामदारको कोटामा असर गर्छ कि गर्दैन ?
गर्दैन | नेपाली कामदारको लागि छुट्टाएको कोटामा नेपाली मात्र आउने हो | नेपाली कामदारहरु भनेको कोरियाली कम्पनीका मालिकहरुले मन पराएका कामदार हुन् | यस कारण पनि नेपाली कामदारको कोटालाई कुनै असर गर्दैन | हामीले देखिराखेका छौ | नेपाली कामदारको कोटा हरेक बर्ष बढदो छ | आगामी बर्षहरुमा अझै बढने छ |
नेपाली दुतावास मजदुरहरुको समस्या समाधान गर्न उदासिन देखिन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ नी ?
यो सरासर गलत हो | यहाँहरुले देख्न सक्नु हुन्छ | म शुरुमा आउदा जति मजदुरको समस्या सुनिन्थ्यो अहिले आएर एकदमै कमि आएको छ किनकी दुतावासले नेपाली मजदरको दुखमा , समस्यामा साथ् दिदै आएको छ | म कोरिया भरिका धेरै कम्पनीमा पुगेको छु | हजारौ मजदुरहरुलाई भेटेको छु | कोरियाका बिभिन्न अनलाईन मिडियाहरुमा मजदुरको हकहित सम्वन्धि , स्वास्थ्य सम्वन्धि , मजदुरले पाउने सेवा सुबिधा सम्वन्धि लेखहरु मार्फत सुचित गर्ने काम पनि गर्दै आएको छु | नेपाली दुतावास मजदुरको समस्या हल गर्न लागि परेको छ | पहिले भन्दा अहिले आएर नेपाली श्रमिकहरु पनि दुतावासको कार्य प्रति सन्तुष्ट देखिएका छन् |
तपाई आफ्नो कार्यकाल सकेर नेपाल फर्कदै हुनुहुन्छ | कोरिया बसाई कस्तो रह्यो ?
म कोरियामा २०१२ नोभेम्वर १६ तारिखमा कोरिया आएको हु | अब म २०१६ को जनवरी १५ तारिख फर्कदै छु | करिब – करिब मैले कोरिया ३ बर्ष बिताए | मैले यहाँ बस्दा कोरियाको समाज , कोरियाको सस्कृति बारेमा बुझ्न पाए | बिशेष गरेर नेपाली मजदूरहरुसंग नजिक रहेर उहाहरुको सुख दुख बुझ्ने मौका पाए | यस क्रममा कोरियामा रहेका बिभिन्न राजनीतिक , क्षेत्रीय , जातिय संघ , संस्थाहरु बिशेष गरेर एन आर एन , एन सि सि लगायत बिभिन्न समाजसेवीहरुले सहयोग गर्नु भएको छ | कोरियामा रहेका नेपालीहरुको जुन किसिमको आत्मियता छ जुन किसिमको सामिप्यता छ यो साच्चै नै सह्रानीय छ | अनुशरण योग्य छ | हामीले देख्न सक्छौ कोरिया कसैलाई दुख बिमार पर्दा होस् या नेपालमा कुनै घटना घट्दा होस् कोरियामा रहेका सबैले नेपाली एक भएर जुट्ने गरेका छन् | कोरियामा रहेका सबै नेपाली एकतावद्ध छन् |
अहिले आएर कोरियामा अबैधानिक नेपालीको संख्या बढेको छ भन्ने सुनिन्छ | यस बारे नेपाली दुतावाससंग कुनै तथ्यांक छ की ?
संख्याले हिसावले बढेको चाहि हो तर प्रतिशतको हिसावमा बढेको देखिन्न | हिजो १५ हजार हुदा ८ / ९ सय जना अबैधानिक थिए भने अहिले ३० हजार भन्दा बढी हुदा पनि २ हजार भन्दा कमै अबैधानिक छन् | सिभिटी परिक्षा दिएर एउतै कम्पनीमा ४ बर्ष १० महिना काम गरेर बैधानिक रुपमा कोरिया आउनेको संख्या बढ्दो छ | आउदा दिनहरुमा अबैधानिक बस्नेको संख्या घट्ने छ |
कोरिया र नेपालको सम्वन्ध निकट नभएको हो ?
कोरिया र नेपालको सम्वन्ध अत्यन्त निकट , अन्यन्त सुमधुर छ | म याद दिलाउन चाहन्छु | नेपालमा भुकम्प जान बित्तिकै कोरिया सरकारले आफ्नो टिम पठाएको थियो | औषधि पठाएको थियो त्यति मात्र नभएर भुकम्प पछिको पूर्णनिर्माणमा सहयोग गर्दै छ | अहिले कोरियामा ३० हजार भन्दा बढी नेपाली कार्यरत छन् |
आउदा बर्षहरु ईपिएस कोटा बढछ या घटछ ?
सतप्रतिशत बढछ | ग्यारेन्टी लिनुस ईपिएस कोटा बढछ किन भने कोरियालाई प्रत्यक बर्ष उसले लिइरहेको कामदार भन्दा १५ देखि २० प्रतिशत बढी कामदारको आवश्यकता पर्छ | तथ्यांकले के देखाउछ भने कोरियालाई २०२० सम्ममा अहिले लिएको भन्दा दोब्बर मजदुरको आवश्यकता पर्छ | यस कारण पनि कोरियामा नेपाली कामदारको संख्या निश्चित रुपमा बढछ |
कोरिया आउन चाहने नेपाली युवाहरुलाई के भन्न चाहनु हुन्छ ?
भाषा राम्रोसंग सिकेर आउनुस | कोरियामा के काम गर्न जादैछु | काम बारे राम्रोसंग बुझ्नुस | बढी महत्वाकांक्षा नलिएर आउनुस | म कोरियामा श्रम गर्न जादैछु भनेर मानसिक र शारीरिक रुपमा बलियो बनेर आउनुस |
अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?
मेरो कोरियामा बसाईको क्रममा सहयोग गर्नु हुने सम्पूर्ण कोरियाबासी नेपालीहरु विभिन्न संग संस्थाहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु | तपाईहरुको कोरिया बसाई सुखद रहोस स्वस्थ्य रहोस भन्दै सधै खुसि र प्रशन्न रहनुहोस |