दक्षिण कोरियामा अमेरिकन बम बर्षक तैनाथ
सोल-उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको चार दिनपछि कोरियाली प्रयादिपमा अमेरिका सक्रिय भएको छ ।
अमेरिकाले आफ्नो बम बर्साउने विमान आइतबार दक्षिण कोरिया पठाएको छ। यसलाई उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई अमेरिकाको कडा सन्देश ठानिएको छ ।
अमेरिकाले हाइड्रोजन बमको परीक्षणपछि उत्तर कोरिया बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिइसकेको छ ।
अमेरिकाले कोरियाली प्रायद्वीपमा लामो दूरीको बमवर्षक विमान बी-५२ स्ट्रयाटोफोर्टरेस पठाएको हो । दक्षिण कोरिया र अमेरिकाले यी विमान अमेरिकाको गुआमस्थित एन्डरसन वायुसेना अड्डाबाट कोरियाका लागि उडेको जनाएका छन् ।
यी बिमान दक्षिण कोरियाको गेयोङ्गी प्रान्तस्थित ओसानको आकाशीय क्षेत्रमा पुगिसकेका छन् । यो क्षेत्र उत्तर कोरियाको सीमानाबाट करिब ७० किलोमिटर टाढा रहेको छ । यी विमान उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणलाई सही बताएपछि अमेरिकाले पठाएको हो । -एजेन्सी