कोरियाबाट हासिल गरेको ज्ञान नेपालमा सदुपयोग गर्न चाहन्छु -इन्दिरा तिवारी
फरक भाषा, फरक संस्कृति सुरुमा त्यति सजिलो थिएन उनलाई कोरियाको माहोलमा भिज्न । कोरियाली जीवनशैलीमा आफुलाई ढाल्न उनले निकै कडा मेहेनत अनि परिश्रम गरिन् । मुख्य समस्या नै भाषा थियो । यद्यपि भाषा सिक्दै आफ्नो अध्ययनलाई अगाडि बढाइन् । त्यसो त कतिपय अप्ठ्यारा अवस्थामा साथ दिने अनि हौसला प्रदान गर्ने श्रीमान सँगै भएकोले पनि उनलाई त्यति गाह्रो महशुस भएन ।
दक्षिण कोरियाको पुसान नेश्नल विश्वविद्यालय बुसानमा स्नातकोत्तर सकेर माइक्रोबायोलोजीमा विद्यावारिधी गर्दै गरेकी इन्दिरा तिवारी मानिसको कलेजोमा हुने एक प्रकारको प्राणघातक रोग जसलाई Hepatocellular carcinoma भनिन्छ, त्यसको उपचार कसरी गर्ने र त्यो रोग कसरी लाग्छ भन्ने पत्ता लगाउने विषयमा केन्द्रित रहेर अनुसन्धान गर्छिन् । उनी आफ्नो अध्ययनसँगै विभिन्न सामाजिक क्रियाकलापमा पनि त्यत्तिकै सक्रिय छिन् । कोरियामा नेपाली कलासंस्कृतिलाई चिनाउदै आएकी इन्दिरा नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) की वर्तमान सभापति पनि हुन् ।
पुख्र्यौली घर पर्वत भएपनि काभ्रेको पाँचखालमा जन्मेकी इन्दिरा तिवारी काठमाडौं बुढानिलकण्ठको बाबा बोर्डिङ स्कुल हुँदै बिरगञ्जको गुरु हरिकिशन स्कुलबाट एसएलसी गरिन् । सानैदेखि बिज्ञान विषयमा रुची भएकोले बिरगञ्जकै हरिखेतन क्याम्पसबाट माइक्रोबायोलोजीमा बिएससी गरिन् । उनलाई गाइनोकोलोजिस्ट भएर महिला स्वास्थ्य क्षेत्रमा केही गर्ने ठुलो इच्छा थियो तर माइक्रोबायोलोजिमा अध्ययन गर्न पुगेकी इन्दिराको माइक्रोबायोलोस्टि भई नेपालको स्वास्थ्य क्षेत्रमा केही गर्ने धोको छ ।
हाल, शुक्ष्मजिव विज्ञान विभाग, पुसान नेश्नल विश्वविद्यालय बुसानबाट विद्यावारिधी शोधकर्ताका रुपमा अध्ययनरत इन्दिरा तिवारीसँग बाला राईले गरेको विस्तृत कुराकानी
अध्ययनको लागि कोरिया नै छान्नुको कारण ?
विज्ञानका जुनसुकै विधामा अध्ययनका लागि कोरियामा राम्रो छ भन्ने जानकारी पाएपछि मैंले स्नातकोत्तर डिग्री अध्ययनको लागि प्राध्यापक खोज्दै थिएँ । त्यहिबेला पुसान नेश्नल विश्वविद्यालयबाट छात्रवृत्ति पाएँ । घरबाट पनि कोरियामै विद्यावारिधी गरिराखेको व्यक्तिबाट मेरो विवाहको कुरा चलिराखेको रहेछ । विवाह पछि श्रीमान पनि कोरियामै भएकोले अध्ययन गर्न आउनलाई झन् सजिलो भयो ।
कोरियामा सुरुमा आउँदा कतिको संघर्ष गर्नुपर्यो ?
कोरिया मैंले नेपालमा बसेर हेर्ने कोरियन टेलिसिरियल जस्तो रहेनछ । हाम्रो देशको भन्दा धेरै नै फरक संस्कृति र भाषा बोलिने भएकोले सुरुमा धेरै गाह्रो भयो । कुनै समाजमा भिज्नु छ भने त्यस समाजमा बोलिने भाषा जान्न आवश्यक छ । त्यस्तै त्यहाँको रहनसहन, जीवनशैली र संस्कृतिसम्वन्धि ज्ञान हुनु पर्छ । मैंले पनि भाषा सिक्न र कोरियाको बारेमा बुझन धेरै संघर्ष गर्नुपर्यो ।
म आउँदा यहाँ धेरै एसियन ग्रोसरी सप (एसियन मार्ट) थिएनन् । खान मन लागेको नेपाली सामानहरु किन्न पाइदैन थियो । नौलो ठाउँ, भाषाको समस्या कतै बाहिर हिड्दा पनि हराइने पो हो कि भनेर डर लाग्थ्यो । कापीको पानामा ठाउँको नाम टिप्दै हिड्थें । मैंले कोरियामा अलिकति पनि विचलित नभई हारेश नखाइ धेरै संर्घष गर्दै अघि बढें । मलाई तिनै संघर्षले सफलता दिएको छ । अहिले कुनै कुराको अप्ठेरो परेको छैन ।
नेपाल र कोरियाका अध्ययन पद्धतीमा के फरक पाउनुभयो ?
सैद्धान्तिक ज्ञानको हिसाबमा हामीले नेपालमा धेरै कुरा जानेपनि प्रयोगात्मक शैलीको पढाई नेपालमा कमै मात्र हुने गर्दछ । त्यसैले होला हाम्रो शिक्षा प्रणाली त्यति प्रभावशाली देखिदैन । कोरियामा भने सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा प्रणाली दुबैलाई उत्तिकै महत्व दिदै सँगसँगै लगिन्छ । यहाँ विद्या आर्जन गर्ने स्थान र गुरुलाई पुजनीय ठानिन्छ । यी संस्कार हामीकहाँ पनि नभएको होइन तर अहिलेको पिढीमा यो संस्कार कतै हराइसकेको त छैन भन्ने महसुस गरेकी छु ।
कोरियामा सरकारी विद्यालय र विश्वविद्यालयहरुलाई विद्यार्थीहरुले बढी महत्व दिन्छन् । र यी सरकारी विद्यालय तथा विश्वविद्यालयहरुमा पढ्नको लागि ठुलो प्रतिष्पर्धा हुने गर्दछ । स्नातक तहको शिक्षा नेपालको शिक्षा प्रणालीसँग मिल्दोजुल्दो हुने गर्दछ । यद्यपि यहाँको शिक्षामा नयाँनयाँ प्रविधि सम्वन्धि राम्रो प्राक्टिकल ज्ञान हासिल गर्न सकिन्छ भने कक्षाहरु कोरियन भाषामा सञ्चालन हुने भएकोले कोरियन भाषामा राम्रो दख्खल हुनु आवश्यक पर्छ ।
स्नातकोत्तर तथा विद्यावारिधी तहको शिक्षामा भने मुलत खोज तथा अनुसन्धानमा बढी जोड दिने गरिन्छ । तर्सथ यस तहको शिक्षा हासिल गर्न आउने विद्यार्थीहरुको अंग्रेजी भाषा राम्रो भए हुन्छ । तर कोरियन भाषाको ज्ञान भए कोरियामा बसुन्जेल जिविकापार्जन गर्न र अन्य विविध क्रियाकलापमा भाग लिन सजिलो हुन्छ ।सैद्धान्तिक ज्ञानको हिसावमा हामीले नेपालमा धेरै कुरा जानेपनि प्रयोगात्मक शैलीको पढाई नेपालमा कमै मात्र हुने गर्छ । त्यसैले पनि नेपालको शिक्षा प्रणाली त्यति प्रभावशाली देखिदैन ।
कोरियामा अध्ययन गर्न कतिको अप्ठ्यारो छ ?
विगत केही वर्षदेखि कोरियामा स्नातक अध्ययन गर्न धेरै अप्ठ्यारो छ । किनकी पुस्तकदेखि अध्ययन प्रणाली कोरियन भाषामा हुने भएकोले कोरियामा स्नातक अध्ययनको लागि कोरियन भाषाको ज्ञान हुनु अत्यन्तै आवश्यक छ । परिक्षामा पनि कोरियन भाषामै लेख्नुपर्छ । कोरियाको सरकारले स्नातक अध्ययनको लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको हुन्छ । जसमा एक वर्ष कोरियन भाषा पढनुपर्छ अनि तीन लेभलको कोरियन भाषा उतिर्ण भए पछि मात्र स्नातक तह अध्ययन गर्नको लागि यहाँका विश्वविद्यालयमा भर्ना हुन योग्य हुन्छन् । तर स्नातकोत्तर वा विद्यावारिधी गर्नको लागि कोरियन भाषामा भन्दा अंग्रेजीमा राम्रो हुनु अनिवार्य छ ।
विशेषगरी विदेशी विद्यार्थीहरुको लागि सबैभन्दा चुनौती के हो ?
विदेशी विद्यार्थीहरुको प्रमुख चुनौती भनेको यहाँको परिवेशमा घुलमिल हुन नसक्नु नै प्रमुख समस्या हो । विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि सुरुमा राम्रोसँग अनुसन्धान गर्न अप्ठेरो पर्छ ।
अहिले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरु कति होलान् ? अनि बढी कुन विषयमा अध्ययन गर्न आउँछन् ?
हाम्रो आधिकारिक विवरण अनुसार कोरियामा छसयको हाराहारीमा नेपाली विद्यार्थीहरु छन् । यद्यपि यो संख्याको पूर्ण विवरण आउन केही समय लाग्छ सोनसिकले यसको लेखाजोखा गर्दैछ । कोरियामा बढी विज्ञानका जुनसुकै विधाको लागि राम्रो भएपनि नेपालबाट केमिस्टी, बायोलोजि, फिजिक्स्क, फार्मेसी, इन्जिनियरि तथा वातावरण विज्ञानको साथै एमबिए, एनजिओ सम्वन्धि शिक्षा तथा मानविकी जस्ता विषय पढन आउनेहरु बढी छन् ।
कोरियामा अध्ययन गर्न आउन चाहने विद्यार्र्थीलाई केही सुझाब ?
मैंले नेपालमा भएका साथीभाइलाई नेपालमा भएका कन्सलटेन्सी अथवा अन्य व्यक्तिको प्रलोभनमा परेर कोरियामा अध्ययनको लागि आउन सिफारिस गर्दिन । किनभने कोरियामा अध्ययनको लागि एकजना प्राध्यापकको आवश्यकता पर्छ । त्यसैले नेपाली विद्यार्थीले आफ्नो प्रतिभा अनुसार विश्वविद्यालयमा भर्ना भएको खण्डमा वा कोरियन प्राध्यापकले सिफारिस गरेको खण्डमा मात्र कोरियामा शिक्षा हासिल गर्न आउन सल्लाह दिन्छु । अझ आजभोली नेपालमा केही कन्सलटेन्सि तथा व्यक्तिहरुले विद्यार्थीसँग भारी रकम लिएर कोरियाको विश्वविद्यालयमा भर्ना गराइदिने वाचा गर्छन् भन्ने पनि सुनेको छु यो सरासर गलत हो ।
कोरियामा विदेशी विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था मिलाएको हुन्छ । यदि विद्यार्थी स्नातकोत्तर तह वा सो भन्दा माथिको शिक्षाको लागि आउँछन् भने विद्यार्थीको जिविकोपार्जनको लागि प्राध्यापकबाट मासिक स्टाइपेन्ड अथवा अध्ययनको अवधिभर खानबस्न पुग्ने सम्पूर्ण खर्च दिइएको हुन्छ ।
कोरियामा सिकेको ज्ञान र सिपलाई नेपाल फर्केपछि प्रयोग गर्ने वातावरण कस्तो भए अझ प्रभावकारी होला जस्तो लाग्छ ?
नेपालमा अवसर नभएको होइन तर हामीसँग प्रयाप्त स्रोत साधन नभएकोले गाह्रो परिरहेको छ । नेपालका सरकार र हामी सबै जनताहरुमा अब देशको लागि गरौं भन्ने सोच आयो भने धेरै कुरा गर्न सकिन्छ । मुलतः नेपालमा असल राजनीतिको सुरुवात भएको खण्डमा सबै कुराको समाधान हुन्छ । म नेपाली र हामी नेपाली भन्ने मानसिकता बोकेर लागेमा नहुने भन्ने केही छैन । त्यस्तै दक्ष्य ब्यक्तिलाई उसको दक्षता हेरी प्रतिष्पर्धा गरी काम गर्ने वातावरण हुनु आवश्यक छ ।
अहिले सोनसिकको अध्यक्ष भएको नाताले सोनसिकलाई अझ अगाडि बढाउन कस्तो नीति ल्याउनु भएको छ ?
सोनसिक आफ्नो स्थापनाको ११ वर्षमा आइपुग्दा कोरियामा अवस्थित विद्यार्थीको साझा संस्था नभएर आज सोनसिक कोरियाका नेपाली विद्यार्थीलाई संसारभर चिनाउने संस्था बन्न पुगेको छ । तसर्थ अबका दिनमा सोनसिक आफुले यहाँ आर्जन गरेको ज्ञान मातृभूमि नेपालको विकासका निम्ती तथा नेपाली समाजको दिगो विकाशका लागि अग्रसर हुने छ । यसका लागि सोनसिकले शैक्षिक सेमिनार आयोजना गर्दै आएको छ ।
र मेरो कार्ययोजना भन्नुपर्दा कोरियामा रहेका सबै नेपाली विद्यार्थीहरुको डाटा संकलन गर्ने, नेपाली राजदूतावाससँग मिलेर सहकार्य गर्ने अनि सकेसम्म नेपालबाट अध्ययन गर्नको लागि कोरियन सरकारलाई अनुरोध गरी छात्रवृत्तिको कोटा बढाउने, कोरियास्थित विभिन्न नेपाली सामाजिक संघसँस्थासँग मिलेर काम गर्ने, कोरियाको अध्ययन विधिलाई नेपालको शिक्षा मन्त्रालय र विश्वविद्यालयमा चिनाउने कोसिस गर्नेछु । यसको अलावा कोरियामा नेपाली कला र संस्कृति चिनाउने काम पनि गर्दै आएको छु ।
नेपाल फर्केपछि के गर्ने योजना बनाउनुभएको छ ?
मैंले कोरियामा आर्जन गर्ने ज्ञान अथवा मेरो अनुसन्धानको विषय भनेको मानिसको कलेजोमा हुने एक प्रकारको प्राणघातक रोग जसलाई Hepatocellular carcinoma भनिन्छ । त्यसको उपचार कसरी गर्ने र त्यो रोग कसरी लाग्छ भन्ने पत्ता लगाउने हो । त्यसैले नेपाल गएर पनि म यहि बिषयमा केन्द्रित भएर काम गर्ने योजना छ । मेरो अध्ययनबाट सिकेको कुरालाई प्रयोगमा ल्याउने इच्छा छ ।
जस्तै, हाम्रो देशमा हामीलाई थाहा नभएका विभिन्न आयुर्वेदिक बोटविरुवाहरु छन् । कतिपय क्यान्सरसँग लड्न सक्ने खुबी भएका आयुर्वेदिक प्रजातीका बोट विरुवा थाहा भइसकेका छन् । तिनैलाई अझ सुक्ष्म अध्ययनअनुसन्धान गरी विश्वमा चिनाउने धोको छ । त्यसको निम्ति नेपालमा राम्रो रिसर्च सेन्टरको स्थापना गरी हाम्रो प्राचिन आयुर्वेदिक पद्धतिलाई अगाडि बढाउने चाहना छ ।
अन्त्यमा, अध्ययन भिषाकासाथै रोजगार भिषा, वैवाहिक भिषा वा अन्य भिषामा आउने नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
कोरियामा विभिन्न भिषामा आउनुभएका नेपालीहरुले राम्रै गरिराख्नुभएको छ । परदेशमा आफ्नो देशमा जस्तो सजिलो कहाँ हुन्छ र ? तैपनि जुन उदेश्यले आउनुभएको छ त्यो उदेश्य पुरा गर्नुस् । आफ्नो कार्य व्यस्तताका वावजूद पनि आफ्नो देशलाई चिनाउन तथा आफ्नो देशको लागि हामी सबै मिलेर केही गर्नुपर्छ । यहाँ सिकेको र देखेको राम्रा पक्षलाई आफ्नो मुलुकमा पनि लागू गर्नु पर्छ भन्ने मेरो चाहना हो ।