नेपाललाई २३ बर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि
सोल – नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।
यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो ।
ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे ।
खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए ।
शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८५ अाै मिनेटमा विशाल राईले अर्को गोल थपे । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले इन्जुरी समयमा गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए ।
राखेपले जनही २ लाख दिने
उपाधि जितेसँगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उपाधि जिते खेलाडीलाई जनही २ लाख दिने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।
यस्तै सरकारका तर्फबाट र अखिल नेपाल फुटबल संघले पनि खेलाडीलाई नगद पुरस्कार दिने तयारी गरेका छन् । तर पुरस्कार रकम भने घोषणा भएको छैन ।