हिउँको दरबार हेरेर मख्खै भएँ (नियात्रा)


बाला राई

कोरिया यतिबेला बुढौंलीपनको काँचुली फेरिरहेछ, सेताम्मे फुलेकी बुढी आमा जस्तै । जताततै सेतै हिउँले ढाकिएका छन् हरिया जंगल, डाँडा पाखा, गाउँ शहर अनि खेतका गरा र कुना कन्दाराहरु । बिछट्टै जाडो बढेको छ यतिखेर । जति खाप न्यानो कपडा लगाए पनि मुटु कमाउने चिसो सिरेटोले गर्दा बाहिर निस्कन मनै लाग्दैन ।

 

 

एक हप्ता अगाडि टेलिभिजनमा समाचार हेरेको थिएँ आइस फेस्टिवल भइरहेको । त्यसो त कोरियामा हरेक मौसममा हरेक फेस्टिवल भइ नै रहन्छन् । विशेषगरी फुल फूल्ने मौसममा हरेक फुलको फेस्टिवल हुने गर्छ । तर मलाई यो पटक हिउँको फेस्टिवल हेर्ने रहर मनदेखि नै जागेर आयो । त्यसैले जनवरी २४ तारिख आइतबार परिवारसहित लाग्यौं आइसफेस्टिवल हुने स्थानतिर ।

 

 

रातभरी परेको बाग्लो हिउँले ढाकिएको थियो पुरै बस्ती, घर आगान अनि बाटाहरु । बिहान उठेर झ्यालबाट बाहिर सडकमा हेरें, घामको प्रकाश हिउँमा टल्केर आँखा नै तिरमिरायो । ‘ओहो, यस्तो हिउँमा कसरी जाने होला त…’ मन एक तमासले छटपटियो । हामी त जसरी भए पनि जाउँला तर छोरीलाई चिसोले भेट्यो भने झनै आपत्, अहिलेसम्म चिसोबाट बच्दै आएकी छे । के गरौं ? मन दोधार भयो । फेरी झ्यालबाट एकपटक बाहिर चियाएँ । टन्टलापुर घाम लागिरहेको थियो । ‘आ, जे होला होला जाने हो,’ मनले अन्तिम निर्णय लियो ।

 

 

कोरियामा यो वर्षकै सबैभन्दा जाडो हुने दिन आज भनेर समाचार आइरहेको थियो । पत्रपत्रिकामा पनि सोह्र वर्ष पछिको सबैभन्दा बढी जाडो महसुस गरिएको दिन भनेर लेखिएको थियो । त्यहि भएर होला अरु दिनको तुलनामा सडकमा गाडी कम गुडीरहेका थिए । हामी बिहानको खाना खाएर रिता पुन दिदीलाई लिन गयौं । त्यसपछि हाम्रो यात्रा सिधै मोडियो गछाङको कमवन सानतिर । सान अर्थात् हिमाल । कोरियामा सानोतिनो पहाडलाई पनि सान भन्दा रहेछन् । सायद हिउँ पर्दा हिमाल जस्तै देखिने भएर होला ।

 

 

गुडिरहेको गाडी पनि पल्टाइदेला जस्तै बेगले हुरी चलिरहेको थियो । हुरीको झोंकासँगै उडिरहेको हिउँको सेतै धुलो देख्दा चैत्र बैखाशमा नेपालको कच्ची बाटोमा बसले उडाउने धुलोको याद आयो । बाटोभरी छरिएको हिउँ देखेर धेरै बर्षअघि सगरमाथा अनि अन्नपूर्ण बेसक्याम्पसम्म पुगेर नजिकबाट हिउँलाई चुमेको याद मेरो मानसपटलमा सलबलाउन थाल्यो ।

 

 

म सगरमाथाको फेदीमा जन्मेको मान्छे तर, हिउँसँग हुर्कन पाइन । सेताम्मे दन्त लहर फिजाएर उभिरहेको अटल हिमाललाई भने आँखाभरी पिइरहन्थें सधैं । झण्डै दुई दशक अघि होला, हिँडेर काठमाडौं जानेक्रममा सल्लेरीदेखि जिरीसम्म तीनदिन प्लास्टिक ओढेर पहिलोपटक सिमलको भुवा झैं फुस्फुसाइरहेको हिउँमा हिडेको थिएँ । कयौंचोटी हिउँमा लडेर घरबाट बोकेको सुन्तला काठमाडौं पुग्दा किचिएर बोक्रामात्र बाँकी थियो । संयोगले आज पनि सुन्तला बोकेको रहेछु । तर फरक यति म हिडिरहेकी थिइन गुडीरहेकी थिएँ । त्यसैले सुन्लता जस्ताको तस्तै थियो ।

 

 

साँढे दुई घण्टाको बाटो तीन घण्टा लगाएर पुग्यौं जंगलको फेदीमा । गाडीहरु तलैदेखि लामवद्ध थिए । मान्छेहरु आवतजावत गरिरहेका थिए । हामी गाडीबाट झरेर पैदल यात्रा सुरु गर्यौं । ससाना केटाकेटीहरु हिउँको चिप्लेटी खेलिरहेका थिए । कोही बरफमा स्की खेल्दै थिए । कोही हिउँसँग खेल्दै तस्बिर खिचाइरहेका थिए । खोलाको पानी जमेर आइस बनेको थियो । खोलाको छेउ र भित्तामा आइसको काल्पनिक दरबार जस्तो देखिने सुन्दर कलाकृतिहरु कुँदिएका थिए कुनै कालीगढले महिनौ लगाएर बनाए जस्तै ।

 

 

‘प्रकृतिको सिर्जना पनि कति राम्रो हगि बहिनी ? आफैं बनेको त होला नि ? कसरी सम्भव भयो होला यस्तो ? यति सुन्दर कसरी बनेको होला ?’ दिदी आइसबाट बनेको सुन्दर आकृति देखेर एकैचोटी धेरै प्रश्न सोध्न भ्याइन् । म भने हिउँको दरबारमा मख्ख परेर हराइरहेको थिएँ । ‘बैनी, यहाँ मेरो फोटो खिचिदिनु न’ भन्दै मोबाइल मेरो हातमा थमाइदिदा पो झसंग भएछु । हामी हिउँको प्राकृतिक बनोटसँगै आइसबाट बनाइएको विभिन्न कलाकृति हेर्दै र फोटो खिच्दै निकैबेर हिउँसँग खेल्यौं जाडोको पर्वाह नगरी । एक महिना चल्ने आइस फेस्टिवल हेर्दे अलि तल झरेपछि भित्तामा एनिमेटेड फिल्म ‘फ्रोजेन’ का कलाकारहरुको चित्र देखियो । मेरो छोरी फ्रोजेनको ‘लेट इट गो’ गीत भनेपछि हुरुक्कै हुन्छे । चित्र देख्नसाथ दगुर्दै गइ अनि गाउन थाली, ‘लेट इट गो…।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...