सोचे जस्तो छैन कोरिया
प्रमोद गौतम
नदेखेको होस वा नचाहिने नै किन नहोस त्यो बस्तु तर मुल्यको बारेमा चासो दिेने गर्छौं हामीहरु ।अरुको आङमा बेरिएको लत्ता कपडा, गरगहना बिषेशतः धेरै याद गरिने कुराको बर्गमा पर्छन । बढ्दो आधुनिकताको चर्को आवश्यकतामा आफुले प्रयोग गर्ने भन्दा ज्यादा प्रयोग गर्न अलि नसक्ने यानिकि नगर्ने बस्तुको मुल्यलाइ महत्व दिदै समय ब्यतित गर्ने मानविय स्वभाब नै भेसकेको छ ।
बोल्न सक्ने बेला देखि नै मुल्य सोध्न सिकेको हुँदो रहेछ मान्छेले । सानो उमेरमा छँदा मिठाइ बिस्कुट लगायतका बस्तुको मुल्य सोधीन्थ्यो अलि ठुलो हुदै जाँदा सँगै पढ्ने साथिको कलम, पेन्सिल, झोला र कापिको मुल्यको बारेमा चिन्ता जब ऐना हेर्ने उमेर आउँछ अनि शरिरमा टांस्ने लुगाफाटा र तिनको मुल्य ।
समयले उमेरलाइ पाको बनाउदै लैजाँदा झन आवश्यकता र मुल्यलाइ पनि पाको बनाउदै लैजाने रहेछ । आफ्नो समस्या पुर्तिको लागि वृद्द बाबा आमाको मुख ताकेर बसिरहँदा जब ति चाउरिएका अनुहार हरुको कुलेसोमा बाध्यता बगेको देखिन्छ अनि आफ्ना हात पाखुराको मुल्य बुझ्ने मन हुँदो रहेछ ।
देशको आर्थिक र राजनितिक दरिद्र्ताको कारण अरु अग्रजहरु जस्तै म पनि पाखुराको मुल्य खोज्न बिदेशिने क्रममा दक्षिण कोरिया आइपुगें । जुन गन्तब्य नेपालमा लोभ लाग्दो भए पनि वास्तब मै फलामका चिउरा चबाउनु सरह नै छ। थकान,निद्रा ,धुलो,धुवाँ ,गह्रुंगो,चर्को आवाज,गर्मि ,जाडो तथा ज्यानको जोखिमको कुनै पर्वाह नगरि घन्टौँ सम्म काम गरिरहनु पर्ने यो ठाउँमा मेरो वेल्डिङ ग्रेन्डिङ गर्ने कम्पनिमा काम पर्यो जुन काम कोरियामा सबैभन्दा गाह्रो काममा गनिन्छ । मेसिन र फोर्कलिफ्टमा तेल राख्ने ट्याङकि बन्ने हुदा नट बल्टु कस्न राख्ने ठाउँ ,वेल्डिङ र ग्रेन्डिङ गर्दा मिलिमिटरको सवाल हुन्थ्यो अलिकति यता उता भयो कि बिग्रेको ( फुल्याङ) हुन्थ्यो ।
सबै भन्दा गाह्रो त वेल्डिङ गर्ने बेला हुन्थ्यो सुरु गरेपछि गर्नु पर्ने जति सबै नगरे सम्म रोक्न पाइने थिएन। त्यो बिचमा रोक्यो भने सामान बिग्रने र साहुको गालि पक्का हुने हुँदा सक्नै पर्ने बाध्यता छ । कामले पेलिएको बेला साहुका कठोर शब्दले मन कुँडाउदा त झुट नै भएपनि हाम्रै देशका नेताको बोलि मिठो लाग्थ्यो तर चिल्ला र मिठा झुट बोलिले गर्दा नै घर परिवार छोडेर बिदेशीन बाध्य बनाउने तिनिहरु नै हुन भनेर भुल्न पनि सक्दिन । जहिले सम्म देशका उच्च अधिकारि भनाउँदा हरु मुल्य बुझ्न नसकेर देश, आफु अनि आफ्नो पद र मर्यादालाइ बादरले नरिवल खेलाए जस्तै खेलाइरहन्छन जस्को प्रतिकुल परिणाम परिणाममुखि पाखुराहरुलाइ परिरहनेछ ।
हामिलाइ थाहा भएकै कुरा देखेकै कुरा बेल्डिङ गर्दा आगोको झिल्काहरु उछिटिने गर्छ जसमध्य कति नपोल्ने हुन्छ भने कति १ -२ मिनेट सम्म नै ननिभ्ने हुन्छन । तिनै ननिभ्ने झिल्काले सिकार गर्न खोज्दा सुरछित कपडा छेडेर भित्र लगाएको ट्राउजर समेत प्वाल पारेर साँप्रा सम्म पुग्थ्यो । पोलाइको पिडा एकातिर असह्य हुदा हुदै पनि न रोक्न मिल्ने न त सहजताका साथ काम गर्न सकिने कस्तो परिस्थिति? काम सकेर बेलुका नुहाउने बेलामा देखिन्छन पोलेका निला काला डाम हरु । ति मध्य कति आलै कति पुराना । नुहाइसकेर कपडा लगाउने बेला पोलिएका ट्राउजरका सयौं प्वालहरु देखेर आफै भित्र पनि प्वाल परेको अनुभब हुन्छ । त्यहिबेला याद आउछ ट्राउजर किनेको पसल र मुल्य । मनमनै ट्राउजर लाइ धन्यवाद दिदै कोठामा पुग्छु र झुस्स परेको अनुहार हेर्छु। नाकको प्वाल अनि मुख देख्दा पनि तिनै ट्राउजरका प्वालहरुको नै याद आउछ ।
लगाउन थालेको महिना दिन नपुग्दै आगोको झिल्काको सिकार बन्न पुगेको नयाँ तर देख्दा पुरानो लाग्ने मेरो कवच जस्ले लाखौं रुपैयाँका सामान, साहुको गालि, जाडो र शरिर जोगाउछ यो ट्राउजरको महत्व न तपाइहरु न त मैले नै जानेको छु । जिवनमा धेरै किसिमका बस्तुहरुको मुल्य सोधीयो जानियो अनि जिवनकै मुल्य बुझ्ने कोशिश गरिरहेको बेला आफ्नै आङ ढाक्ने झुत्राको मुल्य थाहा नहुँदा एक किसिमको खटपटि हुन्छ मनमा र निष्कर्स निक्लन्छ भोलि त्यहि ट्राउजर देखाएर साहुसँग सोध्छु साजाङनिम (साहुज्यु) यस्को मुल्य कति????