उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण गर्ने तयारी
सोल – उत्तर कोरियाका नेता किम जोङ ऊनले अन्तराष्ट्रिय दवाबको बेवास्ता गर्दै नयाँ स्याटालाइट सार्वजनिक गर्न निर्देशन दिएका छन्।
उत्तर कोरियाले फेब्रुअरी महिनामै लामोदुरीसम्मको शक्तिशाली रकेट प्रक्षेपण गरेपछि त्यस घटनाको विश्वव्यापी रुपमा विरोध जारी रहेकै बेला ऊनले अर्को नयाँ स्याटालाइट सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
उत्तर कोरियाले शक्तिशाली रकेट प्रक्षेपण गरेको खुसीयालीको अवसरमा भएको कार्यक्रममा ऊनले थप अरु क्षेप्यास्त्रहरु परीक्षण गर्ने तयारी गरिरहेको बताएका थिए।
यता, उत्तर कोरियाले यस पटकमात्र नभएर बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्ने गरेको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा मैत्री सन्धि सम्झौताहरुको पनि उल्लङ्घन गरेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबे तथा दक्षिण कोरियाले समेत उत्तर कोरियामाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शान्ति तथा निशस्त्रीकरणसम्बन्धी सम्झौताको उल्लङ्घन भएकोले उत्तर कोरियाका बिरुद्धमा कारबाही हुनु आवश्यक रहेको उनीहरुको भनाई छ।