तिमी को हौ ?
मिलनकान्छा किराती
पुरै भत्किएको भाग्य
लडेका सपना उचाल्ने
टुक्रा–टुक्रा खुशी सिउने
विक्षिप्त मुटु टाल्ने
तिमी को हौ ?
आशा–भरोसाहरु
गाउँबाट सहरतिर
सहरबाट मुग्लानतिर !
पहाडबाट ओर्लिरहेका वादलझै
लर्को लागिरहदा
उनीहरुलाई शुभयात्रा भन्ने
छोडीगएका सम्झना साँचेर
फर्केर आउने दिन गन्ने
तिमी को हौ ?
पटक–पटक कुल्चिएर आफुलाई
आफ्नै काखमा सबै–सबै ओठहरुलाई
आरोप, आक्रोश पोख्न दियौ
कुण्ठा, पीडा बोल्न दियौ
सम्हालेर सबको नासो, चिनो
पल–पल आँशु पियौ
अब त भन्नै पर्छ
तिमी को हौ ?