हुन्डाई मोटर्सद्वारा ३ करोड सहयोग
फोनिज कोरिया संवाददाता
सोल-हुन्डाई मोटर्स कोरियाले भूकम्प पीडितहरुको राहतका लागि तीन लाख अमेरिकी डलर (करिव ३ करोड रुपैयाँ) सहयोग गरेको छ । कम्पनीले उक्त सहयोग रकम सोमबार नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्यो । रेडक्रस भूकम्प गएको दिनदेखि नै पीडितहरुको राहत तथा पुर्नस्थापनामा लागिपरेको छ ।
हुन्डाई मोटर्सका एशिया एन्ड प्यासिफिक रिजनल हेडक्वार्टरका निर्देशक साङ मिन पार्कले ‘मुभिङ द वर्ल्ड टुगेदर’को भावनासहित कम्पनीको ग्लोबल सिएसआर कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए ।
हुन्डाईले विश्वमा सहायता आवश्यकता परेका ठाउँहरुमा सहयोग उपलब्ध गराउँदै आएको छ । हुन्डाईको यस्तो सहयोग आगामी दिनमा पनि जारी रहने पार्कले जानकारी दिए ।
डुन्डाई कम्पनीले एनआरसीएसलाई सहायता दिनुका साथै क्षति पुगेका हून्डाई मोटरहरुको मर्मत तथा सर्भिस र पार्टस्मा छुट उपलब्ध गराउने निर्देशक पार्कले बताए । हुन्डाई गाडीको नेपाली बिक्रेता लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले भूकम्प गएको तेस्रो दिनदेखि नै पीडितलाई विभिन्न राहत सामाग्री प्रदान गर्दै आएको बताए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रका १५ सय बढी पीडित परिवारलाई खाद्यन्न, टेन्ट र अरु राहत सामाग्री वितरण गरिएको थियो ।