सुबलाको सफलता
बिसवर्षे शिक्षण पेशामा आवद्ध हुँदा उनले कहिल्यै सोचेकी थिइनन् यसरी प्रवासमा व्यवसाय गरेर जिन्दगी बित्छ भन्ने । जिन्दगीको यात्रामा कहाँबाट कहाँ पुग्नुपर्ने रहेछ, शनिबार आफ्नै रेष्टुरेन्टमा आएका नेपाली पाहुनाहरुको स्वागतमा व्यस्त बालाजी रेष्टुरेन्टकी सुबला गुरुङ भन्दै थिइन् । ‘भविष्यमा यहि व्यवसायमा लागिन्छ भन्ने थाहा भएको भए सायद टिचिङतिर नलागी होटल मेनेजमेन्ट अध्ययन गर्थें कि ?’
दक्षिण कोरियाको थेगु ट्रेनस्टेशन नजिक धोङसङरोको ब्यस्त गल्लीभित्र छिर्नसाथ चोकमै देखिन्छ बालाजी रेष्टुरेन्ट । नेपाली, इन्डियन र नेवारी स्वादका विभिन्न परिकारहरु पस्कदै आएको यिनै रेष्टुरेन्टमा विगत एकदशकदेखि रेष्टुरेन्ट संचालक श्रीमान मानसिंह गुरुङलाई साथ दिइरहेकी छिन् सुबला ।
पुख्र्यौली घर ओखलढुंगा भएपनि काठमाडौंमा जन्मेकी सुबलाको बाल्यकाल भने भारतमा बित्यो । पछि काठमाडौंको महेन्द्र भवन माविबाट एसएलसि दिएकी उनले कलेज पढदै आफुले अध्ययन गरेकै विद्यालयमा शिक्षिका भइन् ।
श्रीमानले कोरियामा आयात निर्यात गर्ने बाबा ट्रेडिङ कम्पनी खोले पछि सन् २००६ मा कोरिया आएकी सुबला सुरुमा केही समय कम्पनिमा काम पनि गरिन् । पछि रेष्टुरेन्ट संचालनमा आएपछि भान्छाको सम्पूर्ण जिम्मेवारी आफैंले लिएपछि भने उनलाई साच्चिकै चुनौतिसँग सामना गर्नुपर्यो । ‘घरमा परिवारलाई मात्र खाना बनाउदै आएको मान्छे नेपाली भाइहरु आउन थालेपछि खाना, नास्ता बनाउन धेरै गाह्रो भयो नि’, उनी सुरुका दिनहरु सम्झन्छिन् । अहिले पनि कुक एकजना मात्र भएकोले खाना बनाउने काममा कुकसँगै खट्दै आएकी छिन् । ‘कुकको भरमा मात्र छाड्नु हुन्न भान्छामा आफैले हेर्नुपर्छ । खानाको स्वाद र ग्राहकको रोजाइलाई पनि त्यतिकै ध्यान दिनुपर्छ’, उनी भन्छिन् ।
कोरियन भाषाको अलिकति पनि ज्ञान नभइ कोरिया आएकी सुबला किनमेल र कोरियनसँग कुराकानी गर्नलाई गाह्रो नभएपनि अफिसियल काममा भने भाषाको समस्या हुने बताउछिन् । ‘पहिला समय हँुदा भाषा सिकिएन अहिले फुर्सद नै हुन्न’, उनी भन्छिन् ।
प्रवासी भूमिमा रित्तो हात आएर कुनै व्यवसाय गर्नु सजिलो पक्कै छैन । तर हिम्मत लिएर हरेक चुनौतिसँग सामना गर्दै धर्यताका साथ अघि बढे सफलता मिल्नेमा सुबला विश्वस्त छिन् । उनी अगाडि थप्छिन्, ‘रेष्टुरेन्ट संचालन गर्दा धेरै गाह्रो भएपनि जिन्दगीमा धेरै कुरा सिक्ने मौका मिल्यो ।’ अहिले आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि लिएकी सुबला भन्छिन्, ‘इमान्दारिताकासाथ गरेको मेहेनत र काममा लगनसिलताले नै मान्छेलाई सफल बनाउदो रहेछ ।’
शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन नेपालीहरु बढी आएपनि अरु दिन बिदेशीले भरिने उक्त रेष्टुरेन्टमा नेवारी सेटसहित मःम, चाउमिन, थुक्पा लगायत नेपाली स्वादको खसीको मासु, आलु तामाको तरकारी सहितको स्वादिष्ट नेपाली खानाका सेटसँगै इन्डियन परिकारहरु राखिएका छन् । खानामा स्वाद मात्र होइन गुणस्तरमा पनि त्यत्तिकै ध्यान पुर्याउदै आएकोले पनि एकपटक आउने ग्राहक लगातार यहि आइराख्ने रेष्टुरेन्ट संचालक मानसिंह गुरुङ र सुबला गुरुङको भनाइ छ । रेष्टुरेन्ट खोल्छु भनेर मात्र हुन्न यस सम्वन्धि गहिलो अध्ययन गरेर बुझेर हात हाल्नु पर्ने बताउदै यहि व्यवसायलाई निरन्तर दिने सोचाइमा रहेका गुरुङ दम्पत्ति भन्छन्, ‘अझै दुईचारवर्ष दुख गर्न मन लागेको छ । बल्ल त खुट्टा टेक्न सकिने अवस्था बनाएका छौं ।’